लिगलिगकोट: बाल्यकालको खेल्ने डाँडादेखि राज्य निर्माणको अनुत्तरित कथासम्म
एउटा यस्तो कथा, जहाँ मानिसहरू राजा बन्न दौडिन्थे, जहाँ स्थानीय सत्ता संरचनाले नयाँ मोड लियो, जहाँ द्रव्य शाहको उदय भयो र जहाँबाट गोरखा राज्यको विस्तारसँग जोडिएको एउटा ऐतिहासिक यात्रा अघि बढ्यो। त्यही यात्राले पछि पृथ्वीनारायण शाहको नेतृत्वमा व्यापक रूप लियो। उनले विभिन्न राज्य र राजनीतिक भूभागलाई एउटै राज्यसत्तामा समेट्ने अभियान अघि बढाए, जसले आधुनिक नेपालको राज्य निर्माणको आधार तयार गर्यो।
नमुना लेख — यो कथा वेबसाइटको उदाहरणका लागि लेखिएको हो।

लिगलिगकोट: बाल्यकालको खेल्ने डाँडादेखि राज्य निर्माणको अनुत्तरित कथासम्म
सूर्यबहादुर क्षेत्री
लिगलिगकोट सम्झिँदा मेरो मनमा इतिहासभन्दा पहिले एउटा डाँडा आउँछ। कुनै राजाको दरबार वा कुनै पुरानो किल्ला होइन– एउटा आफ्नै डाँडा।
त्यही डाँडा, जहाँ बाल्यकालका मेरा असङ्ख्य दिनहरू बिते। त्यही भीरपाखा, जहाँ हामी डुल्थ्यौँ, खेल्थ्यौँ, उफ्रन्थ्यौँ, दौडन्थ्यौँ र रमाउँथ्यौँ। जङ्गलमा ऐसेलु र काफल खान्थ्यौँ। त्यही बाटो, जुन दैनिक विद्यालय जाने बाटो पनि थियो।
त्यतिबेला त्यस डाँडामा इतिहासको यति ठूलो कथा लुकेको छ भन्ने हामीलाई के थाहा ?
हाम्रा लागि लिगलिगकोट खेल्ने ठाउँ थियो। उफ्रिने ठाउँ थियो। साथीहरूसँग भेटिने ठाउँ थियो। विद्यालय जाँदा–आउँदा बाटोछेउका लालीगुराँस टिपेर रमाउने ठाउँ थियो। कहिलेकाहीँ केही नभए पनि कल्पनाले आफ्नै संसार बनाउने ठाउँ थियो। आज ती दिनहरू सम्झँदा लाग्छ– हामीले खेलिरहेको त्यो मैदान वास्तवमा एउटा जीवित इतिहासको आँगन रहेछ।
समय बित्यो। बाल्यकाल बित्यो। जीवनले आफ्नै बाटो समात्यो तर लिगलिगकोट स्मृतिबाट कहिल्यै हटेन। बरु उमेर बढ्दै जाँदा त्यस डाँडाको अर्थ विस्तार हुँदै गयो। विद्यालय जाँदा–आउँदा तँछाडमछाड गर्दै दौडिन मन लाग्ने त्यही डाँडा पछि इतिहास बोकेको ठाउँजस्तो लाग्न थाल्यो। पहिले खेल्ने ठाउँ देखिन्थ्यो, पछि त्यहीँ इतिहास देखिन थाल्यो। पहिले भिरपाखा मात्र देखिन्थ्यो, पछि त्यसैमा राज्य निर्माणको कथा देख्न थालेँ। बाल्यकालमा दौडिन मन लाग्ने त्यही ठाउँमा कुनै समय राजा बन्न मानिसहरू दौडिन्थे भन्ने कुरा थाहा पाएपछि त लिगलिगकोटप्रतिको मेरो दृष्टि नै बदलियो।
आज फर्केर हेर्दा लाग्छ– सायद हामी बाल्यकालमा इतिहासकै बीचमा खेलिरहेका रहेछौँ।
लिगलिगकोट समुद्र सतहदेखि १,४०० मिटरभन्दा केही बढी उचाइमा रहेको पहाडी थुम्कोमा अवस्थित ऐतिहासिक स्थल हो। यहाँबाट वरिपरिका पहाड, फाँट र नदीका खोँचहरू निकै टाढासम्म देखिन्छन्। मौसम खुलेका दिन हिमालका सेता चुचुरासमेत आँखाअगाडि आइपुग्छन्। लिगलिगकोटको प्राकृतिक अवस्थिति र वरिपरिका चेपे, मर्स्याङ्दी र दरौँदी नदीको भूगोलले यस ठाउँलाई प्रकृति र इतिहास दुवैका दृष्टिले विशिष्ट बनाएको छ।
तर लिगलिगकोटको कथा दृश्यबाट सुरु भएर दृश्यमै सकिँदैन।
यस डाँडाको नाममै इतिहासको एउटा अनुत्तरित प्रश्न लुकेको छ। ‘लिगलिग’ शब्दको उत्पत्तिबारे पनि विभिन्न मत पाइन्छन्। स्थानीय भनाइ र केही अनुसन्धानात्मक सामग्रीमा मगर भाषाको ‘लिङलिङ’ अर्थात् सफा, छ्याङ्ग वा चारैतिर स्पष्ट देखिने अवस्थासँग यसको सम्बन्ध जोडिएको पाइन्छ। अर्को मतले ‘लिगलिग’ वा मिल्दोजुल्दो स्थानीय शब्दलाई दुई भूभागबीचको सीमा वा सीमारेखासँग जोड्छ। त्यसैले नामको उत्पत्तिसमेत लिगलिगकोटको बहुस्तरीय इतिहासजस्तै खुला प्रश्न बनेर बसेको छ।
इतिहासको अर्को तह यहाँका प्रारम्भिक शासकसँग जोडिन्छ।
लिगलिगकोटको प्रारम्भिक सत्तासँग ‘घले’हरूको नाम जोडिएको छ। तर ‘घले’ भन्ने शब्दलाई आजको एउटा मात्र जातीय पहिचानबाट बुझ्दा इतिहास अधुरो हुन सक्छ। अनुसन्धानमा ‘घले’ शब्द शासक, मुखिया वा अधिपति जनाउने पदवीका रूपमा पनि उल्लेख भएको पाइन्छ। लिगलिगको सन्दर्भमा भने यहाँका प्रारम्भिक घले शासकहरू मगर समुदायसँग सम्बन्धित थिए भन्ने मत बलियो रूपमा प्रस्तुत भएको पाइन्छ।
यहीँबाट लिगलिगकोटको कथा नेपालको मध्ययुगीन राजनीतिक इतिहाससँग जोडिन्छ।
पाल्पाको सेन वंशीय शासनको प्रभाव कमजोर हुँदै गएपछि गण्डकी क्षेत्रमा रहेका विभिन्न कोट र स्थानीय शक्तिकेन्द्रहरूमा आफ्नै राजनीतिक प्रभाव विस्तार गर्ने गतिविधि बढ्दै गएको देखिन्छ। त्यही परिवेशमा लिगलिगमा एउटा असाधारण परम्परा विकास भएको जनश्रुति र विभिन्न ऐतिहासिक सामग्रीले बताउँछन्– दौडबाट राजा छान्ने परम्परा।
विजयादशमीका दिन हुने त्यो दौडमा सबैभन्दा पहिले लिगलिगकोट पुग्ने व्यक्तिलाई एक वर्षका लागि राजा बनाइने प्रचलन रहेको मानिन्छ। प्रचलित इतिहासमा दलसुर घले मगरलाई यस परम्पराका प्रारम्भिक विजेता र लिगलिगका शासकका रूपमा स्मरण गरिन्छ। कतिपय सामग्रीमा उनले वि.सं. १६०४ देखि १६१४ सम्म लगातार दौड जितेको उल्लेख छ।
यो कुरा सम्झँदा मलाई कहिलेकाहीँ अचम्म लाग्छ। आज हामी मतदान, निर्वाचन र नेतृत्व छनोटका आधुनिक पद्धतिलाई स्वाभाविक मान्छौँ तर त्यस्तो संस्थागत निर्वाचनको विकास हुनुअघि यही पहाडी कोटमा मानिसहरू दौडिन्थे र दौडमा विजयी हुनेलाई नेतृत्व सुम्पिने परम्परा थियो।
के त्यो लोकतन्त्र थियो ?
कतिपय स्थानीय जानकारहरू यसलाई तत्कालीन अवस्थाको लोकतान्त्रिक अभ्यासका रूपमा हेर्छन् तर आधुनिक अर्थमा लोकतन्त्र भन्नका लागि आवश्यक मताधिकार, प्रतिनिधित्व र संस्थागत निर्वाचनजस्ता आधारहरू त्यहाँ थिएनन्। त्यसैले लिगलिगको दौडलाई आधुनिक लोकतन्त्रको प्रारम्भिक नमुना भनेर निष्कर्ष निकाल्नुभन्दा वंशाणुगत अधिकारको सट्टा प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्ने नेपालको एउटा असाधारण ऐतिहासिक परम्पराका रूपमा हेर्नु बढी उचित हुन्छ।
तर इतिहास सधैँ हामीले सुनेको कथाजस्तो सरल हुँदैन।
लिगलिगको दौड कहाँबाट सुरु हुन्थ्यो भन्ने प्रश्नमै फरक मत पाइन्छ। एउटा परम्पराले चेपे र मर्स्याङ्दीको दोभानस्थित चेपेघाटलाई प्रारम्भिक बिन्दु मान्छ। अर्को ऐतिहासिक सन्दर्भले भुसुन्डी क्षेत्रको चोरकाटेतर्फ सङ्केत गर्छ। अहिले सञ्चालन हुँदै आएको लिगलिगे दौड भने दशैँको फूलपाती भित्र्याउने सांस्कृतिक परम्परासँग जोडिएको चेपेघाटबाट लिगलिगकोटसम्म हुने गरेको छ। लिगलिगकोट विकास अभियान र पालुङटार नगरपालिकाले हालको दौडलाई चेपे–मर्स्याङ्दी दोभानबाट सुरु भएर लिगलिगकोट दरबारमा पुग्ने १३.८ किलोमिटरको दौडका रूपमा प्रस्तुत गरेका छन्।
यी फरक मतले इतिहासलाई कमजोर बनाउँदैनन्। बरु इतिहास कति जटिल हुन्छ भन्ने देखाउँछन्।
अनि यहीँबाट द्रव्य शाहको कथा सुरु हुन्छ।
लोकप्रिय कथाअनुसार लमजुङका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाह लिगलिगको दौडमा सहभागी भए। अरू सबैलाई पछि पार्दै दौड जिते र लिगलिगको राजा बने। यही कथन आजसम्म सबैभन्दा धेरै सुनिन्छ।
तर इतिहासको अर्को पाटो पनि छ।
वंशावली, इतिहासकारहरूको अनुसन्धान र स्थानीय परम्पराका केही संस्करणमा द्रव्य शाहको लिगलिग प्रवेशलाई केवल एउटा दौडको परिणामका रूपमा होइन, पूर्वतयारी, राजनीतिक गठबन्धन र शक्ति प्रयोगसँग जोडेर व्याख्या गरिएको छ। गणेश पाँडे, भगीरथ पन्थ, गङ्गाराम राना, सर्वेश्वर खनाल, केशव बोहोरा, मुरलीधर खवास, नारायण अर्याललगायतका व्यक्तिहरूले द्रव्य शाहलाई सहयोग गरेको विभिन्न स्रोतमा उल्लेख भएको पाइन्छ।
यसैसँग जोडिएको अझ कठोर र रोचक जनश्रुति पनि छ– दौडको अवसरमा लिगलिगका प्रतिस्पर्धीहरू तयारीमा जुटिरहेका बेला द्रव्य शाहले दलबलसहित आक्रमण गरी सत्ता आफ्नो हातमा लिए। पाँच स्थानीय प्रतिस्पर्धीको हत्या गरी गाडिएको र त्यसैबाट ‘पाँच चिहान’ हुँदै त्यो स्थानको नाम ‘पाँच्यान’ रहन गएको भन्ने कथा पनि प्रचलित छ तर यसबारे पनि फरक व्याख्याहरू पाइन्छन्।
कुन कथा पूर्ण सत्य हो ?
इतिहासकारले सावधानी अपनाउनुपर्ने ठाउँ यही हो। द्रव्य शाहले दौड जितेर सत्ता प्राप्त गरेको लोकप्रिय मान्यता पनि छ। अर्कोतर्फ पुराना इतिहास, वंशावली र अनुसन्धानमा राजनीतिक रणनीति तथा सैन्य हस्तक्षेपको व्याख्या पनि पाइन्छ। त्यसैले घटनालाई एउटै निर्विवाद कथामा सीमित गर्नु उचित देखिँदैन।
सायद इतिहासको इमानदार उत्तर यही हो– लिगलिगकोटको सत्ता परिवर्तनलाई एउटा मात्र कथाले पूर्ण रूपमा समेट्न सक्दैन।
त्यसैले द्रव्य शाहलाई केवल दौडका विजेता भनेर सम्झनु पनि अपूरो हुन्छ र केवल षड्यन्त्रकारी विजेता भनेर निष्कर्ष निकाल्नु पनि हतार हुनेछ। उनी आफ्नो समयका राजनीतिक सम्भावना बुझ्ने, सहयोगी जुटाउने र शक्ति विस्तार गर्ने महत्वाकांक्षी राजकुमार थिए भन्ने कुरा घटनाक्रमले देखाउँछ।
वि.सं. १६१५ र १६१६ को प्रसङ्ग पनि यहीँ स्पष्ट हुन्छ।
वि.सं. १६१५ को विजयादशमीसँग लिगलिगकोटमाथि द्रव्य शाहको अधिकार जोडिन्छ भने वि.सं. १६१६ भदौ २५ गते उनी गोरखाको राजगद्दीमा बसेको विवरण विभिन्न ऐतिहासिक स्रोतमा पाइन्छ।
अर्थात् यी दुई मिति एउटै घटनाका दुई नाम होइनन्। एउटा लिगलिगको सत्ता परिवर्तनसँग र अर्को गोरखाको राजसत्ता प्राप्तिसँग सम्बन्धित छ।
यही क्षणबाट लिगलिगको कथा एउटा स्थानीय कोटको सीमाभन्दा बाहिर निस्किन्छ।
द्रव्य शाहले सुरुमा लिगलिगकोट र त्यसपछि गोरखामा सत्ता स्थापित गरे। त्यसपछि शाहवंशीय राज्यको विस्तार हुँदै गयो। उनका उत्तराधिकारीहरू हुँदै राम शाहको प्रशासनिक तथा न्यायिक परम्परा विकसित भयो। त्यसपछि पृथ्वीनारायण शाहको नेतृत्वमा गोरखाको राज्य विस्तारले अझ व्यापक रूप लियो। उनले विभिन्न राज्य र राजनीतिक भूभागलाई एउटै राज्यसत्तामा समेट्ने अभियान अघि बढाए, जसले आधुनिक नेपालको राज्य निर्माणको आधार तयार गर्यो।
यसअर्थमा लिगलिगकोटलाई ‘नेपाल एकीकरणको आरम्भिक स्थल’ भन्नुभन्दा नेपालको राज्य निर्माण र पछि विकसित भएको एकीकरण अभियानको प्रारम्भिक राजनीतिक पृष्ठभूमिसँग जोडिएको ठाउँ भन्नु बढी सन्तुलित हुन्छ।
लिगलिगकोटको अर्को स्मृति सैन्य इतिहाससँग जोडिन्छ।
द्रव्य शाहको शासनकालमा भगीरथ पन्तलाई सेना हेर्ने काजी अर्थात् सेनापतिको जिम्मेवारी दिइएको र प्रारम्भिक सैनिक संगठन निर्माण भएको भन्ने अनुसन्धानात्मक मत छ तर आजको संस्थागत नेपाली सेनाको स्थापना र त्यसको आधुनिक संगठनात्मक विकासलाई एउटै घटनासँग बाँध्न मिल्दैन। यही कारण लिगलिगकोटलाई नेपाली सैन्य इतिहासको प्रारम्भिक संगठनात्मक परम्परासँग जोडिएको स्थल भन्नु बढी सन्तुलित हुन्छ।
लिगलिगकोटमा इतिहासका यी राजनीतिक कथाहरू केवल शब्दमा मात्र छैनन्। तिनका निशान आज पनि त्यहाँका ढुङ्गा, भग्नावशेष र पुराना संरचनामा भेटिन्छन्।
पाँचवटा विशाल गढीका अग्ला भग्नावशेष उभिएका छन्। दरबारका आधारहरू छन्। सुरक्षा संरचनाका अवशेष छन्। सभा चौतारो, कटुवाल चौतारो, तिलिङ्गे चौतारो, फूलपाती डाँडोजस्ता स्थानीय स्मृतिमा बाँचेका ठाउँहरू आज पनि छन्। द्रव्यपानी, रुसेपानी, जोगी पँधेरो, धोबीधारा, मौवाघारी पँधेरो, भिरपानीजस्ता पुराना पानीका स्रोतहरू पनि आजसम्म बाँचेका छन्।
यी भौतिक निशानसँगै त्यहाँ कालिका, भूमे, भीमसेन र चण्डीथानसँग जोडिएका धार्मिक तथा सांस्कृतिक परम्पराहरू पनि छन्। विशेषतः कालिका मन्दिर यहाँको प्रमुख धार्मिक स्थल हो। यसले लिगलिगकोटलाई केवल सैन्य किल्ला वा राजकीय निवासका रूपमा बुझ्न नहुने देखाउँछ। यहाँ सत्ता, धर्म, संस्कृति, समाज र दैनिक जीवन एकै भूगोलमा गाँसिएका थिए।
सायद यही कारण लिगलिगकोट मलाई आज एउटा खुला सङ्ग्रहालयजस्तो लाग्छ।
यहाँ कुनै ठूलो भवनभित्र प्रवेश गरेर इतिहास हेर्नुपर्दैन। गढीमा इतिहास छ। ढुङ्गामा इतिहास छ। बाटोमा, चौतारामा र पँधेरोमा त्यसका निशान छन्। मन्दिरमा त्यसको निरन्तरता छ र सबैभन्दा बढी– मानिसहरूको स्मृतिमा इतिहास छ।
तर विडम्बना के छ भने यति धेरै इतिहास बोकेको ठाउँ लामो समयसम्म उपेक्षित रह्यो। पुराना संरचना जीर्ण भए। कतिपय अभिलेख र शिलालेख नष्ट भए। धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएका संरचनाहरू संरक्षणको पर्खाइमा रहे।
अहिले भने केही नयाँ अध्याय सुरु भएका छन्।
लिगलिगे दौड पुनः सञ्चालन भएको छ। स्थानीयहरूको अग्रसरता र सरकार तथा स्थानीय तहसँगको सहकार्यमा आधुनिक दौड सञ्चालन हुँदै आएको छ। अहिले दौड जित्ने व्यक्तिलाई प्रतीकात्मक रूपमा ‘लिगलिगे राजा’ घोषणा गर्ने गरिन्छ।
इतिहासलाई पुनः दौडाउन खोजिएको यो प्रयास आफैँमा अर्थपूर्ण छ।
तर दौड पुनः सुरु हुनु मात्र पर्याप्त छैन।
लिगलिगकोटको पुरानो भौतिक सम्पदा पनि उठ्नुपर्छ। भग्नावशेषहरू सुरक्षित हुनुपर्छ। पुराना गढी र दरबारका संरचनाहरूको वैज्ञानिक अध्ययन हुनुपर्छ। संरक्षण र जीर्णोद्धार हुनुपर्छ। अभिलेखहरू खोजिनुपर्छ। मौखिक इतिहासहरू सङ्कलन हुनुपर्छ। स्थानीय समुदायको स्मृतिलाई अनुसन्धानसँग जोडिनुपर्छ।
त्यसपछि मात्र लिगलिगकोट एउटा पर्यटकीय गन्तव्य मात्र होइन, अध्ययन, अनुसन्धान र अनुभवबाट इतिहास बुझ्ने खुला सांस्कृतिक परिसर बन्न सक्छ।
एउटा प्रश्नले मलाई बारम्बार घचघच्याइरहन्छ– लिगलिगकोटलाई संसारसामु चिनाउने वास्तविक शक्ति आखिर कहाँ छ ? आज देखिने ती भग्नावशेषमा कि तिनले सुनाउने कथामा ? यसको शक्ति ढुङ्गा र भग्नावशेषभन्दा धेरै पर, समयले जोगाएर राखेको त्यस कथामा छ।
एउटा यस्तो कथा, जहाँ मानिसहरू राजा बन्न दौडिन्थे, जहाँ स्थानीय सत्ता संरचनाले नयाँ मोड लियो, जहाँ द्रव्य शाहको उदय भयो र जहाँबाट गोरखा राज्यको विस्तारसँग जोडिएको एउटा ऐतिहासिक यात्रा अघि बढ्यो। त्यही यात्राले पछि पृथ्वीनारायण शाहको नेतृत्वमा व्यापक रूप लियो। उनले विभिन्न राज्य र राजनीतिक भूभागलाई एउटै राज्यसत्तामा समेट्ने अभियान अघि बढाए, जसले आधुनिक नेपालको राज्य निर्माणको आधार तयार गर्यो।
तर मेरो लागि लिगलिगकोटको कथा यतिमै सकिँदैन।
म फेरि त्यही डाँडामा पुगेको कल्पना गर्छु। बाल्यकालमा हिँडेको बाटो सम्झन्छु। हामीले खेल्ने ठाउँ सम्झन्छु। विद्यालय जाने बाटो सम्झन्छु। भिरपाखामा उफ्रिँदै, कहिले दौडिँदै, कहिले यत्तिकै डुल्दै बिताएका ती दिनहरू सम्झन्छु। अझ बढी ऐसेलु र काफल खाएका, लालीगुराँस टिपेका ती बाल्यकालका दिनहरू सम्झन्छु।
त्यतिबेला हामीलाई थाहा थिएन– हामीले टेकिरहेको माटोमा कुनै समय राज्यसत्ताका लागि सङ्घर्ष भएको थियो। हामीलाई थाहा थिएन– यही भूगोलमा नेतृत्वका लागि मानिसहरू दौडिन्थे। हामीलाई थाहा थिएन– यही डाँडाको कथा पछि गोरखा हुँदै नेपालको व्यापक राजनीतिक इतिहाससँग जोडिनेछ।
आज ती सबै कुरा थाहा पाएपछि बाल्यकालका ती दृश्यहरू अझ अर्थपूर्ण लाग्छन्।
सायद ठाउँहरू पनि मानिसजस्तै रहेछन्। बाल्यकालमा हामी तिनलाई केवल देख्छौँ। उमेर बढेपछि बुझ्न थाल्छौँ। अझ पछि फर्केर हेर्दा थाहा हुन्छ– हामीले देखेको र भोगेको ठाउँभित्र हामीले नदेखेको एउटा अर्को संसार पनि रहेछ।
लिगलिगकोट मेरो लागि त्यही अर्को संसार हो।
यसैले मेरो मनमा एउटा इच्छा छ– यो डाँडा केवल विगत सम्झेर बस्ने ठाउँ नहोस्। यहाँ पुराना गढीहरू सुरक्षित होऊन्। कालिका र अन्य धार्मिक स्थलहरूको संरक्षण होस्। ऐतिहासिक संरचनाको वैज्ञानिक जीर्णोद्धार होस्। अभिलेख, वंशावली र मौखिक इतिहासहरू सङ्कलन गरिऊन्। एउटा राम्रो सङ्ग्रहालय बनोस्, जहाँ लिगलिगको दौड, घलेहरूको इतिहास, द्रव्य शाहको उदय, गोरखा राज्यको विस्तार र नेपालको राज्य निर्माणको यात्रालाई एउटै क्रमिक कथामा बुझ्न सकियोस्।
स्थानीय बस्तीहरू पर्यटनसँग जोडिऊन्। पदमार्गहरू व्यवस्थित होऊन्। स्थानीय खाना, संस्कृति र जीवनशैलीसँग पर्यटक परिचित होऊन्। बालबालिकाले पाठ्यपुस्तकमा मात्र होइन, आफ्नै आँखाले इतिहास पढ्न पाऊन्। देश–विदेशबाट मानिसहरू यहाँ आउन्, केही समय बसून्, यो भूगोललाई हेरून्, यसको कथा सुनून् र फर्किँदा आफ्नो साथमा लिगलिगकोटको एउटा स्मृति लिएर जाऊन्।
त्यो दिन सायद लिगलिगकोटको वास्तविक पुनर्जन्म हुनेछ।
म चाहन्छु– कुनै दिन संसारको कुनै कुनाबाट आएको मानिस लिगलिगकोटको डाँडामा उभियोस्। उसले हिमाल हेर्दै गर्दा केवल सुन्दर दृश्य नदेखोस्। तल बगेका नदीहरू हेर्दै गर्दा केवल प्रकृति नदेखोस्। ढुङ्गाका भग्नावशेष छुँदा केवल पुरानो संरचना नसम्झोस्।
उसले बुझोस्– कुनै समय यहाँ मानिसहरू नेतृत्वका लागि दौडिन्थे; सत्ताको स्वरूप सधैँ एउटै थिएन; एउटा सानो पहाडी कोटको कथा कसरी एउटा राज्यको निर्माणसँग जोडियो र सायद उसले यो पनि बुझोस्– इतिहास केवल राजाहरूको कथा होइन। इतिहास त त्यो माटोको पनि हो, जहाँ सामान्य मानिसहरू दौडे, खेले, बसे, पूजा गरे, सपना देखे र आफ्नो समय बाँचे।
लिगलिगकोटको डाँडामा आज पनि बतास चल्छ।
कहिलेकाहीँ मलाई लाग्छ, त्यो बतासले मेरो बाल्यकालका पाइला पनि बोकेर आउँछ। ती पाइला, जसलाई त्यतिबेला कुनै इतिहास थाहा थिएन। अनि त्यही बतासले पाँच सय वर्ष पुराना केही प्रश्न पनि बोकेर ल्याउँछ– दौडको वास्तविक कथा के थियो ? द्रव्य शाह कसरी राजा बने ? ती पुराना गढीहरूले के–के देखे ? कति कुरा अभिलेखमा आए र कति मानिसका स्मृतिमै हराए ?
सायद सबै प्रश्नको उत्तर हामीले कहिल्यै पाउन सक्दैनौँ।
तर खोज्न छोड्नु हुँदैन।
किनभने इतिहासको सुन्दरता सायद पूर्ण उत्तरमा मात्र होइन, अझै बाँकी रहेको प्रश्नमा पनि हुन्छ।
लिगलिगकोटको इतिहासको एउटा अध्याय धेरै पुरानो छ तर त्यसको भविष्य अझै लेखिन बाँकी छ।
र म चाहन्छु– त्यो भविष्य लेख्ने जिम्मेवारीबाट मेरो पुस्ता पछि नहटोस्। यही पुस्ताले यसको खोज, संरक्षण र अनुसन्धानको काम सुरु गरोस्। आउने पुस्ताले त्यसलाई गौरवका साथ अघि बढाओस्। अनुसन्धानकर्ताले नयाँ तथ्यहरू उजागर गरून्। स्थानीय बासिन्दाहरूले आफ्ना स्मृति र कथाहरू जोगाइराखून्। इतिहासकारहरूले तिनलाई अभिलेख र प्रमाणसँग जोडून्। बालबालिकाले आफ्नै आँखाले यो इतिहास पढून्। देश–विदेशबाट आउने मानिसहरूले आफ्नै अनुभवमा यसको अर्थ बुझून्।
सायद कुनै दिन मैले बाल्यकालमा खेल्दै दौडेको यही डाँडा संसारका मानिसहरू इतिहास बुझ्न, प्रकृति अनुभव गर्न र केही क्षण आफ्नै जीवनबाट बाहिर निस्केर एउटा पुरानो समयको कथा सुन्न आउने ठाउँ बन्नेछ।
त्यो दिन लिगलिगकोट केवल विगतको स्मारक हुनेछैन।
त्यो जीवित इतिहास हुनेछ।
र सायद त्यस दिन पनि यही डाँडामाथि बतास चलिरहेको हुनेछ।
तर त्यो बतासले त्यतिबेलासम्म एउटा नयाँ कथा बोकेको हुनेछ- हामीले कहिल्यै पूरा हुन नसक्ने ठानेका खोजहरू पूरा हुँदै गएको, हराउन लागेका स्मृतिहरू जोगिँदै गएको र बाल्यकालमा हामीले खेल्दै दौडेको यही डाँडाले आफ्नो भविष्य आफैँ लेख्न थालेको कथा।
सायद लिगलिगकोटको सबैभन्दा ठूलो कथा यही हो– जुन अझै सकिएको छैन।
अध्ययनका लागि धन्यवाद।
अन्य लेखहरू पढ्नुहोस्