अस्ट्रेलियाको यात्राः सिड्नीदेखि ब्रिसबेनसम्म
अस्ट्रेलियाको यो यात्रा मेरो अघिल्लो क्यानबेरा यात्राभन्दा फरक थियो । क्यानबेरामा पुस्तकालय, युद्ध स्मारक, संसद् भवन र इतिहाससँग नजिकबाट भेट भएको थियो । यो यात्रा भने मुख्यतः बाटो, समुद्र, प्रकृति, परिवार र सहरको दैनिक जीवनसँग जोडिएको थियो ।

अस्ट्रेलियाको यात्राः सिड्नीदेखि ब्रिसबेनसम्म
सूर्यबहादुर क्षेत्री
सेप्टेम्बर १५–२०, २०२६ | अस्ट्रेलिया
पच्चीसौँ तलाको बाल्कोनीबाट बाहिर हेर्दा समुद्र एकाएक आँखैअगाडि फैलिएको थियो । तल सडकमा गुडिरहेका गाडीहरू साना देखिन्थे । टाढा निलो पानीमाथि उठेका सेता छालहरू किनारतिर आइरहेका थिए । पूर्वतिरबाट उदाउँदै गरेको सूर्यको उज्यालोले समुद्र, भवन र सडकलाई एउटै दृश्यमा बाँधेको थियो ।
त्यो बिहान गोल्ड कोस्टको एउटा अग्लो अपार्टमेन्टको बाल्कोनीमा उभिँदा केही दिनअघिको यात्रा सम्झनामा फर्कियो । हामी त्यहाँ हवाईजहाजबाट पुगेका थिएनौँ । कोगराहबाट गाडी चढेर निस्केका थियौँ तर त्यतिबेला हामीलाई थाहा थिएन—त्यो बाटोले कहाँ-कहाँ रोक्नेछ, कस्ता दृश्य देखाउनेछ र यात्राको अन्त्यसम्म पुग्दा हामीसँग ठाउँका नाम मात्र रहनेछन् कि अरू केही पनि ।
त्यो बिहानका दृश्यले बितेका केही दिनलाई एकएक गर्दै फेरि खोल्न थाले ।
त्यो यात्रा केही दिनअघि कोगराहबाटै सुरु भएको थियो ।
सेप्टेम्बर १५ | बाटोमा पहिलो समुद्र
बिहान करिब ९:५० बजे हामी कोगराहबाट निस्कियौँ । गाडी ज्वाईं सुयोगले हाँक्नुभएको थियो । हामी पाँच जना थियौँ—सुयोगबाबु, छोरीहरू सुम्मिता, अस्मिता, पत्नी युक्ता र म । मुख्य गन्तव्य थियो—गोल्ड कोस्ट ।
सहर विस्तारै पछाडि छुट्दै गयो । सडक फराकिलो थियो । कतै हरिया जङ्गल, कतै ससाना पहाड, कतै नदीमाथिका पुल । बीचबीचमा खुला खेत, बस्ती र साना सहरहरू देखिन्थे । गाडीभित्र आफ्नै पारिवारिक गन्थन चलिरहेको थियो । बाहिर भने भूगोल निरन्तर बदलिइरहेको थियो ।
मलाई एउटा कुरा विस्तारै महसुस हुन थाल्यो—यहाँ खाली ठाउँ धेरै रहेछ । वनजङ्गल, चरनभूमि, खेतीयोग्य जमिन र खुला भूभागको तुलनामा मानव बस्ती कतै-कतै मात्र देखिन्थ्यो । सहर नजिकिँदा मानिसको उपस्थिति बाक्लिन्थ्यो तर केही बेरमै फेरि हरियाली र खुला जमिन सुरु हुन्थ्यो ।
सडकका दुवैतिर देखिने भूगोल पनि मेरो लागि नौलो थियो । ससाना थुम्काहरू थिए तर नेपालका भिराला पहाडजस्तो आकस्मिक उकालो–ओरालो र घुम्ती देखिँदैनथ्यो । साना घुम्ती आए पनि टाढासम्म अगाडि र पछाडिको भूभाग देखिन्थ्यो । सडकमा यात्रा गर्दा भूगोलले बाटोलाई थामेको होइन, बाटोले भूगोलसँग आफूलाई मिलाएको जस्तो लाग्थ्यो ।
केही समयपछि समुद्रको पहिलो सङ्केत भेटियो ।
हामी केभ्स बिच (Caves Beach) पुग्यौँ ।
समुद्रमा पस्नुअघि बाटोमा किनेर ल्याएको तातो सामुद्री परिकार र तारेको आलु लिएर नजिकैको विश्रामस्थलमा बस्यौँ । खानाको बास्नासँगै वरिपरि चराहरू जम्मा हुन थाले । त्यतिबेला तिनको नाम हामीलाई थाहा थिएन । पछि थाहा भयो—तिनलाई यहाँ सिल्भर गुल भनिँदो रहेछ ।
समुद्रसँगको मेरो पहिलो भेटमा एउटा अर्को अप्रत्याशित साथी पनि जोडियो ।
हातमा रहेको आलुको सानो टुक्रा तल खसालिदिँदा एउटा चराले टिप्यो । फेरि अर्को टुक्रा । केही बेरपछि त ती चराहरू हामीलाई घेरा हालेझैँ वरिपरि झुम्मिन थाले । समुद्र हेर्न आएको मान्छे र समुद्रकिनारमा आफ्नै जीवन बिताइरहेका ती चराहरूबीच एकछिन अनौठो सम्बन्ध बनेको थियो ।
मैले तिनको तस्बिर र भिडियो खिचेँ ।
खाना सकिएपछि हामी समुद्रतर्फ लाग्यौँ । नाङ्गा खुट्टाले बालुवा टेक्दा समुद्रसँगको भेट अझ नजिकिएको महसुस भयो । हामी पानीमा पुग्यौँ ।
त्यहाँ पुग्दा समुद्रको अर्को रूप देखियो—चट्टानभित्र बनेका सामुद्री गुफा ।
बाहिरबाट हेर्दा चट्टान, भित्र पस्दा अर्को संसार । हामी एउटा छेउबाट गुफाभित्र पस्यौँ र अर्को छेउबाट निस्कियौँ । गुफाभित्र छालको आवाज अझ नजिक सुनिन्थ्यो । समुद्र बाहिर मात्र थिएन; चट्टानको भित्री अँध्यारोसम्म पुगेको थियो ।
गुफाबाट बाहिरिएपछि हामी फेरि समुद्रको पानीतर्फ लाग्यौँ । छालसँग खेल्यौँ । सुरुमा पानीको चिसोपनभन्दा त्यसको गति र शक्ति बढी महसुस भयो । एकपटक आएको छालले हामीलाई हुत्याइदियो । मनमा एकछिन डर उठ्यो तर त्यो डरभन्दा रोमाञ्च बढी थियो र रमाइलो झन् बढी ।
समुद्रको छालसँग खेल्न अभ्यस्त नभएको म त्यसलाई हेरेर अझै सतर्क थिएँ तर केही क्षणपछि त्यही छालमा रमाउन थालेँ । समुद्रको फैलावट, छालको निरन्तर गति र चट्टानमा ठोक्किँदा निस्कने आवाजले समय बितेको पत्तै भएन ।
अन्ततः त्यहाँबाट बाहिरियौँ र फेरि बाटो समात्यौँ ।
अर्को रोचक गन्तव्य थियो न्युक्यासल मेमोरियल वाक (Newcastle Memorial Walk)।
समुद्रतर्फ फैलिएको बाटो, खुला आकाश, तल देखिने निलो पानी र युद्धस्मृतिसँग जोडिएका संरचनाहरूले यात्राको प्रकृति नै बदलिदिए । केही बेरअघि हामी समुद्रको छालसँग खेलिरहेका थियौँ । यहाँ आइपुग्दा त्यही समुद्र इतिहासको मौन साक्षीजस्तो देखिन्थ्यो ।
डाँडाको बाटोमा अघि बढ्दा मेरो ध्यान समुद्रभन्दा त्यहाँ राखिएका सैनिकका आकृतिहरू र शिलालेखतिर गयो । फलाममा बनाइएका ती सैनिकका आकृतिहरू केवल सजावट थिएनन्; तिनमा युद्धमा गएका मानिसहरूको सम्झना अङ्कित थियो ।
पछि थाहा भयो, न्युक्यासल मेमोरियल वाक सन् २०१५ मा गालिपोलीको ANZAC अवतरणको शतवार्षिकी तथा न्युक्यासलको इस्पात उद्योगको सुरुआतको स्मरणमा निर्माण गरिएको रहेछ । करिब ४५० मिटर लामो यो पदमार्गको एउटा भागमा प्रथम विश्वयुद्धमा भर्ती भएका हन्टर क्षेत्रका करिब ११ हजार पुरुष तथा महिलाको सम्झनामा झन्डै चार हजार पारिवारिक नाम अङ्कित छन् ।
समुद्रको खुला दृश्यबीच ती नामहरू पढ्दा युद्धको इतिहास अचानक आँखाअघि आइपुगेजस्तो भयो । ती नाम अपरिचित थिए तर ती सबैको पछाडि कुनै परिवार, कुनै घर र कुनै प्रतीक्षा थियो होला भन्ने सोच आयो ।
त्यो क्षणमा समुद्र केवल हेर्ने दृश्य रहेन ।
साँझतिर हामी पोर्ट म्याक्वेरी (Port Macquarie) पुग्यौँ । हाम्रो बास थियो फ्लिन्स बिच काराभान पार्क (Flynns Beach Caravan Park) ।
क्याराभान पार्क मेरो लागि आफैँमा एउटा नयाँ अनुभव थियो । रूखहरूबीच ससाना क्याबिन । वरिपरि क्याराभान लिएर बसेका परिवार । कोही बाहिर खाना पकाइरहेका, कोही सँगै बसेर खाइरहेका । केही सवारीसाधनले त घर र सुत्ने ठाउँ दुवैको काम गरिरहेका थिए ।
हामीले पनि त्यही क्याबिनमा रातको खाना पकायौँ ।
दिनभरि सडकमा दौडिएको यात्रा साँझ एउटा सानो क्याबिनभित्र आएर रोकियो । बाहिर हरियाली थियो । वरिपरि शान्त वातावरण । भित्र परिवारको सामान्य गफगाफ ।
तर भोलिपल्ट फेरि बाटो पर्खिरहेको थियो ।
सेप्टेम्बर १६ | समुद्र, खेती र बाटो बिराएको एउटा मोड
बिहान करिब ८:३० बजे हामी फेरि बाटोमा निस्कियौँ ।
फ्लिन्स बिच (Flynns Beach) पुग्दा समुद्रको हावा अझ चिसो थियो । एउटा ठूलो पाइनको रूखमुनि उभिएर केही तस्बिर खिच्यौँ । समुद्रमा मानिसहरू पौडिरहेका थिए, कतिपय सर्फिङ गरिरहेका थिए ।
मलाई फेरि उही प्रश्नले छोयो—यति चिसो पानीमा पनि मानिसहरू कसरी यति सहजै पसिरहेका होलान् ?
समुद्रमा पौडिनेहरू, छालमाथि सर्फिङ गर्नेहरू र किनारमा बच्चाहरूसँग रमाउनेहरूलाई हेर्दा पानी यहाँ केवल प्राकृतिक दृश्य होइन, दैनिक जीवनकै एउटा हिस्सा रहेछ भन्ने अनुभूति हुन्थ्यो ।
अर्को सुन्दर सामुद्री क्षेत्र थियो साउथ वेस्ट रक्स (South West Rocks) ।
हरियालीले ढाकिएको भूभाग, घुमाउरो चट्टानी किनार र निलो समुद्र । टाढाबाट हेर्दा पानीभित्रै निलो भूभाग उम्रिएजस्तो देखिन्थ्यो ।
समुद्रका दृश्यहरू बिस्तारै यात्राको स्थायी पृष्ठभूमि बन्न थाले ।
तर बाटो समुद्र मात्र थिएन ।
कहिले घना जङ्गल आउँथ्यो, कहिले खुला खेती । बारले छुट्याइएका चरन क्षेत्र, गाईवस्तु र भेडा । कतै बगैँचा, कतै केराका बोट, कतै लामो पात भएका बाली । खेती र पशुपालन पनि भूगोलसँग मिलेर बसेको देखिन्थ्यो ।
मलाई यहाँको एउटा कुरा विशेष रोचक लाग्यो—प्रकृतिलाई हटाएर विकास गरिएको जस्तो देखिँदैनथ्यो । बरु प्रकृतिबीच बाटो, बस्ती, खेत, चरन र पूर्वाधारलाई मिलाएर राखिएको जस्तो अनुभूति हुन्थ्यो । यो मेरो यात्रु आँखाले देखेको दृश्य थियो तर त्यसले मनमा एउटा प्रश्न भने छोडेको थियो—विकास र प्रकृतिबीचको सम्बन्ध कस्तो हुन सक्छ ?
बीचमा हामीले खाना खायौँ, इन्धन भर्यौँ र गाडीको टायरमा हावा पनि आफैँ हाल्यौँ । यहाँ यात्राको अर्को पक्ष देखिन्थ्यो—धेरै काममा अरूको प्रतीक्षा गर्नुपर्दैन । मानिस आफैँ सेवा लिन्छ र आफैँ प्रक्रिया पूरा गर्छ । यी सबै काम सुयोगबाबुले गर्नुभयो ।
सडकमा गतिको सीमा, लेन, सङ्केत, क्यामेरा र ट्राफिक व्यवस्थापनका अनेक रूप देखिन्थे । बीचबीचमा आराम गर्ने ठाउँ, शौचालय र साना खानाका पसलहरू पनि थिए ।
दिउँसो करिब ३:३० बजेतिर हामी बायरन बे (Byron Bay) को वाटेगोस बिच (Wategos Beach) पुग्यौँ ।
त्यहाँ पुगेपछि फेरि दृश्यले हामीलाई रोक्यो । सानो पहाडी भूभाग, हरियाली, घुमाउरो बाटो, समुद्रतर्फ खुलेको दृश्य र छरिएका घरहरू । केही क्षणका लागि मलाई पोखराको लेकसाइड वरपरका दृश्य सम्झना आए । फरक थियो भूगोल, फरक थियो समुद्र तर प्रकृतिसँग मानिसको सम्बन्धले कताकता परिचित अनुभूति गराइरहेको थियो ।
समुद्रमा सर्फिङ गर्नेहरू थिए । कोही पौडिरहेका थिए । कोही किनारमा आराम गरिरहेका थिए । पानीमाथि खेलिरहेका मानिसहरूलाई हेर्दा समुद्र उनीहरूको दैनिक जीवनको एउटा सामान्य हिस्सा भइसकेजस्तो लाग्थ्यो ।
त्यो दिनको यात्रामा बाइरन बे एउटा छुट्टै अध्यायजस्तो बन्यो ।
तर त्यहाँबाट निस्केपछि यात्राले अर्को अनपेक्षित मोड लियो ।
समय थियो करिब ४:३५ बजे ।
जीपीएसले देखाएको बाटो पछ्याउँदै हामी एउटा चौबाटोमा पुग्यौँ । केही बुझ्न नपाउँदै गाडी अर्कै बाटोतिर लागिसकेको थियो । तत्काल रोक्न सम्भव थिएन । सडकको गति र पछाडिको सवारीसाधनले त्यस्तो अवसर दिएन ।
हामी अगाडि बढिरह्यौँ ।
मुख्य राजमार्गबाट छुट्टिएको बाटो साँघुरिँदै गयो । उकालो लाग्यो । वरिपरि ससाना घर, हरियाली र कतै पशुचौपायासमेत देखिन थाले । केही मिनेटअघिसम्म राजमार्गमा दौडिरहेको हाम्रो गाडी अब कुनै शान्त ग्रामीण बस्तीको बीचमा पुगेजस्तो भयो ।
अपरिचित बाटो थियो । तर डरभन्दा बढी जिज्ञासा थियो ।
करिब दस मिनेटपछि बाटो घुम्दै फेरि मुख्य मार्गतिर आइपुग्यो ।
हामीले गल्ती गरेका थियौँ तर त्यही गल्तीले एउटा नयाँ ग्रामीण बस्तीको दृश्य देखाइदिएको थियो ।
कहिलेकाहीँ नचाहेर भएको भूलले पनि बाटोको अर्को अनुहार देखाउँदो रहेछ ।
साँझतिर हामी क्वीन्सल्याण्ड प्रवेश गर्यौँ । गोल्ड कोस्ट नजिकिँदै जाँदा सडक झन् फराकिलो हुँदै गयो । कतैकतै धेरै लेनमा फैलिएका सडक देखिए । सहरको उज्यालो बाक्लिँदै गयो ।
अब प्रकृतिको खुलापन विस्तारै सहरको घनत्वमा बदलिँदै थियो ।
अन्ततः हामी मेन बिच (Main Beach) पुग्यौँ ।
हाम्रो बसाइ थियो डे भिल अपार्टमेन्ट्स (De Ville Apartments)—समुद्रको ठीक अगाडि उभिएको अग्लो भवन । हाम्रो अपार्टमेन्ट २५औँ तलामा थियो । भवन आफैँ भने २६ तले थियो । त्यहाँको व्यवस्था पनि सुयोगबाबुले करिब तीन महिना अघि नै मिलाउनुभएको थियो ।
ढोका खोलेर भित्र पसेपछि हामी सबै केही बेर चुप भयौँ ।
अगाडि समुद्र थियो ।
तल सडकमा बत्तीहरू थिए । एकातिर सहरका भवनहरू । बीचमा समुद्रको कालो फैलावट । छालहरू निरन्तर किनारतिर आइरहेका थिए ।
त्यो दृश्यलाई केही क्षण शब्दले समेट्न सकेन ।
दिनभरि सडकमा दौडिएको गाडी, जङ्गल, खेती, साना बस्ती र सामुद्री किनार पार गर्दै आएको यात्रा अन्ततः समुद्रको यति नजिक, यति अग्लो ठाउँमा आएर रोकिएको थियो ।
बाल्कोनीबाट तल हेर्दा उचाइले एकछिन आङ सिरिङ्ग हुन्थ्यो । फेरि समुद्रतिर हेर्दा त्यही डर हराउँथ्यो ।
त्यस दिन बाटोले हामीलाई समुद्रको गुफाबाट सुरु गराएर समुद्रकै अगाडि ल्याएर छाडेको थियो ।
राति परिवार मिलेर खाना पकायौँ । बाहिर समुद्र निरन्तर सुसाइरह्यो । थकाइ र सामुद्री आवाजबीच भुसुक्क निदाइयो ।
सेप्टेम्बर १७ | गोल्ड कोस्ट (Gold Coast) को आकाशमुनि
बिहान करिब पाँच बजेतिर मेरो निद्रा खुल्यो ।
झ्यालबाहिर रात र बिहानको बीचको त्यो क्षण थियो । पूर्वतिर आकाशको रङ बिस्तारै बदलिँदै थियो । केहीबेरपछि रातो सूर्य समुद्रको क्षितिजबाट माथि उठ्न थाल्यो ।
पच्चीसौँ तलाबाट देखिएको दृश्य फरक थियो ।
समुद्र ठूलो थियो तर त्यहाँबाट देखिने कतिपय भवनहरू साना लाग्थे । सडकमा गुडिरहेका गाडीहरू झन् साना । माथि आकाश, तल समुद्र र बीचमा एउटा अग्लो भवनभित्र उभिएको म र मेरो परिवार ।
त्यो उचाइले कहिलेकाहीँ रोमाञ्चित बनाउँथ्यो, कहिलेकाहीँ हल्का डर पनि लाग्थ्यो तर बिहानको दृश्यले डरलाई जित्थ्यो ।
त्यहाँ उभिँदा मलाई एउटा कुरा महसुस भयो—उचाइ केवल तल हेर्दा डर लाग्ने कुरा रहेनछ; त्यही उचाइले संसारलाई अर्को कोणबाट हेर्ने अवसर पनि दिँदो रहेछ ।
दिन चढेपछि हामी गोल्ड कोस्टका विभिन्न भागतिर निस्कियौँ । बस र पैदल हिँड्दै पार्क, सडक, पुल, समुद्रकिनार र सहरका विभिन्न दृश्यहरू हे¥यौँ ।
गोल्ड कोस्टलाई केवल समुद्रको सहर भनेर बुझ्न खोज्दा यसको अर्को आधा भाग छुट्ने रहेछ । समुद्रसँगै भित्री जलमार्ग, पुल, पार्क, सडक र मानवीय गतिविधिले सहरको आफ्नै लय बनाएका थिए ।
समुद्र एकातिर अनन्तजस्तो फैलिएको थियो, अर्कोतिर मानिसले बनाएका अग्ला भवनहरू आकाशतिर उक्लिरहेका थिए ।
तलबाट माथि हेर्दा ती भवनहरू साँच्चिकै टावरजस्ता लाग्थे । कसरी बने होलान् ? कसले यति अग्लो संरचना बनाउने कल्पना गर्यो होला ? त्यसको भार, हावा, समुद्र र समयसँगको सम्बन्ध कति जटिल होला ?
आर्किटेक्चर र संरचनागत इन्जिनियरिङप्रतिको मेरो जिज्ञासा त्यहीँबाट अझ गहिरियो ।
पछि यसको इतिहासबारे बुझ्दा मेरो त्यो अनुभूति केही हदसम्म बुझिने भयो । कुनै समय दक्षिणी तटीय क्षेत्रमा छरिएका ग्रामीण बस्ती र खेतीका भूभाग रहेको यो क्षेत्रमा सन् १९२५ पछि पर्यटनले गति लिन थालेको रहेछ । विशेषगरी १९५० को दशकदेखि होटल, मोटेल, सपिङ आर्केड, जलमार्ग र अग्ला भवनहरूको विकास तीव्र हुँदै गएछ । १९५९ मा गोल्ड कोस्टलाई सहर घोषणा गरिएको रहेछ ।
त्यसैले मैले देखेको आधुनिकता केवल आजको चमक रहेनछ; त्यसका पछाडि दशकौँमा बदलिँदै आएको सामुद्री बस्ती र पर्यटकीय सहरको कथा पनि रहेछ ।
सहरभित्र घुम्दै जाँदा पार्कमा चराहरूले पनि ध्यान तानिरहेका थिए । कतै मयूर, कतै परेवा, कतै थरीथरीका पानीचराहरू। छोरीहरू विशेषगरी मयूरतिर आकर्षित भए । मानिस र चराहरूबीचको त्यो सहज सहअस्तित्व पनि यात्राको सानो तर मनमा बस्ने दृश्य बन्यो ।
पानीतर्फ हेर्दा फेरि मानिसहरूकै अर्को संसार देखिन्थ्यो ।
कोही पौडिरहेका थिए । कोही सर्फिङ गरिरहेका थिए । कोही डुङ्गा, मोटरबोट वा क्रुजरमा पानीमाथि हिँडिरहेका थिए । पानीसँग मानिसहरूको सम्बन्ध हेर्दा मलाई लाग्थ्यो—यहाँका मानिसलाई पानीसँग डरभन्दा परिचय बढी रहेछ ।
हामीकहाँ समुद्र नहुँदा समुद्र एउटा ठूलो र टाढाको प्राकृतिक शक्ति हो । यहाँ भने पानी दैनिक जीवनको नजिक थियो । मनोरञ्जन, यात्रा, खेलकुद, विश्राम—सबैमा पानी मिसिएको देखिन्थ्यो ।
त्यस दिन अस्ट्रेलियाको सार्वजनिक यातायातबारे पनि एउटा रोचक कुरा अनुभव गरियो—क्वीन्सल्याण्डको Translink नेटवर्कमा लागू भइरहेको ५० सेन्टको एकैदर भाडा । बस, रेल, फेरी र ट्रामलगायत सेवामा दूरीअनुसार भाडा फरक नपर्ने त्यो व्यवस्था यात्राका क्रममा आफैँमा ध्यान तान्ने विषय बन्यो ।
तर टिकटभन्दा ठूलो कुरा त्यसले जन्माएको प्रश्न थियो ।
मानिसलाई सार्वजनिक यातायात प्रयोग गर्न सहज बनाउने नीतिले सहरको दैनिक जीवनमा कस्तो प्रभाव पार्दो होला ?
त्यस दिनको उत्तर खोज्न हामी कुनै पुस्तक पढिरहेका थिएनौँ, न कसैलाई सोधिरहेका थियौँ । सडकमा हिँडेर, बस चढेर र मानिसहरूलाई हेरेर आफैँ बुझिरहेका थियौँ ।
साँझ फेरि त्यही पच्चीसौँ तलाको झ्यालमा फर्कियौँ ।
सहरको पछाडि सूर्य अस्ताउँदै थियो ।
बिहान त्यही समुद्रबाट सूर्य उदाएको देखेका थियौँ । साँझ त्यही समुद्रको सम्मुख सूर्य अस्ताउँदै गरेको हे¥यौँ ।
एउटै झ्यालबाट दिनको सुरुवात र अन्त्य देख्न पाउनु पनि यात्राको एउटा दुर्लभ संयोग थियो ।
सेप्टेम्बर १८ | ब्रिसबेनतर्फ र एउटा सानो पाठ
बिहान फेरि समुद्रकिनारतिर गयौँ । छालहरू पहिलेझैँ आइरहेका थिए । हामीले केही क्षण सामुद्री छालसँगै रमायौँ । किनभने केही दिनमै हामी पनि त्यस दृश्यसँग परिचित भइसकेका थियौँ ।
अपरिचित ठाउँ परिचितजस्तो बन्न धेरै समय नलाग्दो रहेछ ।
करिब ११ बजेतिर हामी ब्रिसबेनतर्फ लाग्यौँ ।
बस चढ्ने क्रममा एउटा सानो समस्या आयो । कार्ड ट्याप गरेर यात्रा सुरु गर्नुपर्ने प्रक्रियाले त्यतिबेला ठीकसँग काम गरेन । चालकले बस्न सङ्केत गरिन् । हामी अगाडि बढ्यौँ ।
पछि स्टेशनमा कार्ड ट्याप गर्दा सामान्य ५० सेन्टभन्दा फरक रकम देखियो । यात्राको प्रक्रियामा एउटा सानो त्रुटि भएको रहेछ । ट्याप-अन छुटेको कारण अतिरिक्त रकम तिर्नुपर्ने अवस्था आयो । कार्डबाट घटेको रकम जम्मा २ डलर थियो ।
रकम सानो थियो । तर सिकाइ ठूलो थियो ।
व्यवस्थित प्रणालीमा एउटा सानो असावधानीले पनि फरक परिणाम ल्याउँदो रहेछ । प्रणाली ठीक हुनु मात्र पर्याप्त हुँदैन रहेछ; त्यसलाई प्रयोग गर्ने मानिस पनि प्रक्रियासँग परिचित हुनुपर्दो रहेछ ।
ब्रिसबेनतर्फको रेलयात्रा करिब सबा घण्टाजति चल्यो । झ्यालबाहिर बदलिँदै गएको दृश्य हेर्दै हामी अगाडि बढ्यौँ ।
समुद्रकिनारको यात्राबाट नदीकिनारको सहरतर्फ जाँदै थियौँ ।
ब्रिसबेन पुगेपछि सबैभन्दा पहिले साउथ बैङ्क पार्कल्यान्ड्स (South Bank Parklands) तिर गयौँ । नदीकिनारको पार्कमा पस्दा हरियाली, रङ्गीबिरङ्गी फूलहरू, पैदलमार्ग, मानिसहरूको चहलपहल र अग्ला भवनहरूको बीचबाट बगिरहेको ब्रिसबेन नदीले सहरलाई आफ्नै किसिमको लय दिएको थियो ।
तर त्यहीँ मेरो ध्यान अचानक एउटा परिचित दृश्यमा पुग्यो ।
नेपाली शान्ति प्यागोडा ।
अस्ट्रेलियाको एउटा ठूलो सहरको नदीकिनारमा उभिएको नेपाली शैलीको त्यो संरचना देख्दा एकछिन आफ्नै देशसँग भेट भएजस्तो लाग्यो । काठमा कुँदिएका आकृति र नेपाली वास्तुकलाको झल्को बोकेको प्यागोडा त्यहाँ केवल एउटा संरचना थिएन; परदेशमा भेटिएको आफ्नैपनको एउटा स्मृति थियो । यो प्यागोडा सन् १९८८ को World Expo का लागि नेपालको प्रतिनिधित्व गर्ने प्रदर्शनीका रूपमा निर्माण गरिएको थियो र अहिले साउथ बैङ्कको महत्वपूर्ण सम्पदामध्ये एकका रूपमा रहेको छ ।
त्यहाँबाट हामी ब्रिसबेन नदी किनार हुँदै मुख्य सहरतर्फ लाग्यौँ । बाटोमा आधुनिक भवनहरूसँगै पुरानो वास्तुकला बोकेका संरचनाहरू पनि देखिन्थे । अग्ला भवन, होटल, व्यावसायिक संरचना र सपिङ मलहरूले आधुनिक सहरको रूप देखाइरहेका थिए भने बीचबीचमा देखिने पुराना भवनहरूले त्यस दृश्यमा समयको अर्को तह थपिरहेका थिए ।
मेरो आँखा भने ती पुराना भवनमै बढी अडिन्थ्यो ।
किन होला ? सायद नयाँ भवनहरू आधुनिक सहरको एउटै भाषामा बोलिरहेका थिए तर पुराना भवनहरू आफ्नै कथासहित उभिएका थिए । तिनलाई हेर्दा भवन मात्र देखिँदैनथ्यो; तिनको पछाडि कुनै समय, कुनै मानिस, कुनै जीवन र कुनै इतिहास लुकेको होला भन्ने जिज्ञासा जाग्थ्यो ।
ब्रिसबेनका यस्ता धेरै संरचना आज पनि सहरको इतिहाससँग जोडिएका छन् । ब्रिसबेन सिटी काउन्सिलले नदीकिनारका विभिन्न सम्पदा पदमार्गमार्फत कस्टम्स हाउस, पुराना भवन, पुल र अन्य ऐतिहासिक स्थलहरूको इतिहास संरक्षण गर्दै आएको छ । स्टोरी ब्रिज पनि ब्रिसबेनको नदीदृश्य र सहरी पहिचानको महत्वपूर्ण हिस्सा बनेको छ ।
सडकको वारिपारि देखिएका Bank of New South Wales र Griffith University लेखिएको भवन मलाई त्यस्तै कलात्मक र आकर्षक लागे । त्यसले मनमा फेरि एउटा प्रश्न उठायो—सहर आधुनिक हुँदै जाँदा पुरानो सौन्दर्यलाई कसरी वर्तमानसँगै जोगाएर राख्न सकिन्छ ?
ब्रिसबेनमा मैले आधुनिकता र इतिहासलाई एकअर्काको विरोधीका रूपमा देखिनँ । नयाँ भवनहरू आफ्नै ठाउँमा थिए, पुराना संरचनाहरू आफ्नै पहिचानमा । दुवैको उपस्थितिले सहरलाई केवल नयाँ भवनहरूको समूह हुनबाट जोगाएको अनुभूति भयो ।
सायद सहर केवल नयाँ संरचनाले मात्र बन्दैन । उसको स्मृति पनि चाहिन्छ ।
त्यसपछि हामी फेरि ब्रिसबेन नदी किनारको अर्को भागतिर लाग्यौँ । नदी, पैदलमार्ग, हरियाली, पुल, अग्ला भवन र मानिसहरूको चहलपहलबीच हिँड्दा नदीसँग सहरको सम्बन्ध कति गहिरो रहेछ भन्ने महसुस भयो । स्टोरी ब्रिज वरिपरि पुग्दा फेरि तस्बिर र भिडियो खिच्यौँ ।
दिन ढल्किँदै थियो ।
ब्रिसबेनमा बिताएको समय छोटो थियो तर त्यसले यात्रामा अर्को तह थपिदिएको थियो । समुद्र हेर्न निस्केको यात्राले यहाँ आइपुग्दा नदी, सहर, वास्तुकला, इतिहास र नेपाली स्मृतिसँग पनि भेट गराएको थियो ।
त्यो दिन एउटा कुरा अझ स्पष्ट भयो—यात्रामा कुनै दृश्य किन मनमा बस्छ भन्ने कुरा त्यसको आकारले मात्र निर्धारण गर्दैन रहेछ । कहिलेकाहीँ एउटा पुरानो झ्याल, एउटा ढोका, कुनै भवनमा देखिएको कलात्मकता वा परदेशमा अचानक भेटिएको आफ्नै देशको स्मृतिले गगनचुम्बी भवनभन्दा धेरै बेर मनमा ठाउँ बनाउँदो रहेछ ।
साँझको रेल समातेर हामी गोल्ड कोस्ट फर्कियौँ ।
राति करिब आठ बजे फेरि त्यही अपार्टमेन्टमा पुग्यौँ । बाहिर समुद्र थियो । हामीले फेरि छालको आवाज सुन्यौँ ।
तर भोलिपल्टदेखि हाम्रो बाटो फर्किन लागेको थियो ।
सेप्टेम्बर १९ | फर्कंदै गर्दा समुद्रले फेरि बोलायो
बिहान उठ्दा गोल्ड कोस्टको आकाश फेरि उज्यालो हुँदै थियो ।
समुद्रमा मानिसहरू पहिलेझैँ पौडिरहेका र सर्फिङ गरिरहेका थिए । यति चिसो पानी र यति ठूलो छालसँग पनि उनीहरूको सहज सम्बन्ध देख्दा मैले उनीहरूलाई मनमनै ‘पानी मान्छे’ भन्न थालेँ ।
तर अब बिदाइको समय थियो ।
सामान मिलायौँ । कोठा जाँच्यौँ । अन्तिमपटक बाल्कोनीबाट समुद्र हेर्यौँ । तल झरेर मैले त्यो अग्लो भवनको अन्तिम तस्बिर लिएँ ।
२६ तले सेतो भवनसँग बिताएका तीन रात पनि अब स्मृतिमा जाने तयारीमा थिए ।
गोल्ड कोस्ट पछाडि छुट्यो ।
अबको बाटो सिड्नीतिर थियो तर हामी घुम्ने ठाउँ अझै बाँकी थिए ।
बाटोमा फेरि समुद्रले रोक्यो ।
बलिना लाइटहाउस बिच (Ballina Lighthouse Beach) पुग्दा समुद्रको किनारमा चट्टान, छाल र टाढासम्म फैलिएको खुला आकाश देखिन्थ्यो । केही मानिसहरू समुद्रले किनारमा ल्याएका वस्तुहरू खोजिरहेका थिए । हामीले पनि पहिले गोल्ड कोस्टमा टिपेका केही सीपी र समुद्रले ल्याएका ससाना खबटा सम्झियौँ ।
त्यहीँ काठको रेलिङमा फेरि मेरो नजिकै एउटा सुन्दर सिल्भर गुल आइपुग्यो ।
क्षणभरका लागि केभ्स बिच सम्झना आयो ।
त्यहाँ हातबाट आलुको टुक्रा टिपेको त्यो चराको अनुहार यही थियो कि थिएन, भन्न सकिँदैनथ्यो ।
तर यात्राले कहिलेकाहीँ मानिसलाई प्रमाणभन्दा बढी स्मृति दिन्छ ।
मैले फेरि त्यसको तस्बिर खिचेँ—सायद यात्राको एउटा सानो स्मृतिका रूपमा ।
आउँदा एउटा सामुद्री चराले सुरु गरेको यात्रा फर्कने बाटोमा अर्को चरासँग जोडिएको थियो ।
त्यसपछि हामी कफ्स हार्बर (Coffs Harbour) पुग्यौँ ।
बसाइको व्यवस्था यसअघि नै निश्चित गरिएको थियो । साँझ पर्नुअघि समुद्र र हार्बर क्षेत्रतिर निस्कियौँ ।
मारिनाको छेउमा पानीमा थुप्रै डुङ्गा देखिन्थे । कतिपय साना मोटरबोट थिए, कतिपय मनोरञ्जनका लागि प्रयोग हुने डुङ्गा । त्यहीँबाट माथितिर जाने बाटो थियो । हामी पनि त्यही बाटो लाग्यौँ ।
माथि पुगेपछि दृश्य एकाएक फराकिलो भयो । तल पानीमा थुप्रै डुङ्गा देखिन्थे । अर्कोतिर खुला समुद्र थियो । चारैतिर फैलिएको पानी र क्षितिजमाथिको आकाशले कफ्स हार्बरलाई तलको चहलपहलभन्दा बिल्कुलै फरक रूपमा देखाइरहेको थियो ।
हामी केही बेर त्यहीँ बस्यौँ । हेर्यौँ । रमायौँ । दिनको उज्यालो अझै बाँकी थियो तर सूर्य बिस्तारै पश्चिमतिर ढल्किँदै थियो । त्यहीँ उमेरले पाको देखिने एक अस्ट्रेलियाली महिलाले हाम्रो जोडीको तस्बिर खिचिदिइन् । एउटी सानी बालिकाले युक्ताको कपालमा लगाएको क्लिप देखेर प्रशंसा गरिन् ।
यात्रामा अपरिचित मानिसका यस्ता साना व्यवहारले पनि मनमा ठाउँ बनाउँदा रहेछन् ।
सूर्य अझ तल झर्दै गयो । समुद्रको पानीमा उज्यालोको रङ फेरिँदै गयो । हामीले अस्ताउँदै गरेको सूर्यलाई पर्दामा सजाएर केही तस्बिर लियौँ ।
त्यसपछि तल झर्यौँ । पानीको किनारसँगै बनेको बोर्डवाकजस्तो बाटोमा केही बेर हिँड्यौँ । शान्त पानीमा विभिन्न प्रकारका माछा देखिन्थे । कतै कछुवा पनि देखिए । पानीमुनिको त्यो सानो संसारले केही बेर हाम्रो ध्यान त्यतैतिर तानिरह्यो ।
डुङ्गाहरू आफ्नै ठाउँमा शान्त थिए । पानीमा साँझको उज्यालो अझै बाँकी थियो । केही बेर त्यहीँ रोकिएर वरिपरि नियाल्यौँ र अन्ततः बासस्थानतिर फर्कियौँ ।
कफ्स हार्बरको त्यो साँझ यात्राको अन्तिम दिनअघिको एउटा शान्त र सुखद स्मृति बनेर मनमा बस्यो ।
भोलिपल्ट बिहान भने अन्तिम लामो बाटो बाँकी थियो ।
सेप्टेम्बर २० | नेल्सन बे (Nelson Bay) हुँदै घरतर्फ
बिहानै कफ्स हार्बर छाड्यौँ ।
छ दिनको यात्रामा पहिलोपटक अब ‘फर्किनुपर्छ’ भन्ने अनुभूति स्पष्ट हुँदै थियो ।
तर सुयोगबाबुको अर्को योजना थियो— नेल्सन बेमा केही समय रोकिने । उहाँका एक सहकर्मी त्यहीँ बस्ने रहेछन् र हामीलाई भेट्न बोलाएका थिए ।
त्यसैले सिड्नी फर्किने बाटोमा फेरि एउटा सुन्दर सामुद्रिक सहर थपियो ।
नेल्सन बे पुग्दा समुद्र पहिलेका ठाउँभन्दा केही फरक लाग्यो । यहाँ पानीको फैलावटसँगै किनारमा डुङ्गा, याट र क्रुजरहरूको आफ्नै संसार देखिन्थ्यो । शान्त र सुरक्षित जलक्षेत्रमा थुप्रै डुङ्गा आ–आफ्नो ठाउँमा रोकिएका थिए ।
ती डुङ्गा हेर्दै फेरि सोच्न थालेँ—समुद्रसँग जोडिएको समाजमा पानीमाथिको जीवन र मनोरञ्जन पनि दैनिक जीवनकै एउटा स्वाभाविक हिस्सा कसरी बनेको होला ?
सुयोगबाबुका सहकर्मी मिगेल हामीलाई स्वागत गर्न आइपुगे ।
भेट छोटो थियो तर आत्मीय । केही समय उनीहरूलाई आफ्नै कुराकानीमा छाडेर हामी सामुद्रिक किनार वरपर आफ्नै तरिकाले रमायौँ ।
बालबालिकाहरू पानीमा खेलिरहेका थिए । कोही पौडिरहेका थिए । कोही किनारमा बसेर पानी हेरिरहेका थिए । कोही खाइरहेका थिए ।
हामीले त्यहीँ सामुद्री परिकार खायौँ ।
यात्राको सुरुवातमा केभ्स बिचमा खाएको सामुद्री परिकार अचानक सम्झनामा आयो ।
छ दिनअघि समुद्रले हामीलाई स्वागत गरेको थियो । अन्तिम दिन पनि समुद्रकै किनारमा बसेर हामी फर्कने तयारी गर्दै थियौँ ।
सायद यात्राको सबैभन्दा सुन्दर संयोग यही थियो—समुद्रले सुरुमा बोलाएको थियो र बिदाइ पनि उसैको किनारमा हुँदै थियो ।
बिदाइको समय आयो ।
मिगेलसँगको औपचारिक बिदाइपछि हामीले पनि बाटो समात्यौँ ।
अब सिड्नी टाढा थिएन ।
तर फर्किने बाटो पनि त्यति सरल रहेन । सिड्नी नजिकिँदै जाँदा सडकमा यातायातका साधनहरुरू बाक्लिँदै गए । समय बचाउन सुयोगबाबुले एउटा सुरुङको बाटो रोज्नुभयो । सुरुङभित्रका बत्तीहरू रङ्गीन ढाँचामा देखिन्थे । मैले मोबाइल निकालेर केही दृश्य कैद गरेँ ।
सुरुङबाट बाहिर निस्कँदा फेरि परिचित सहर देखिन थाल्यो ।
कोगराह नजिकिँदै थियो ।
छ दिनअघि यहीँबाट यात्रा सुरु भएको थियो । अब फेरि यहीँ फर्किंदै थियौँ ।
गाडी रोकिएपछि केही क्षण हामी सबै चुपजस्तै भयौँ ।
कुनै औपचारिक समापन थिएन ।
तर छ दिनको बाटो अब हाम्रो साथमा थिएन । त्यो हाम्रो स्मृतिभित्र पसिसकेको थियो ।
समुद्र, जङ्गल, खेती, बस्ती, सहर, नदी, पुल, अग्ला भवन, पुराना संरचना, चराहरू, अपरिचित मानिस, साना भूल र बाटोमा जन्मिएका अनेकौँ प्रश्न—यी सबैलाई पछाडि छोडेर हामी घरभित्र पसिरहेका थियौँ ।
तर के यात्रा त्यति सजिलै सकिँदो रहेछ ?
यात्रा सकिएपछि
अस्ट्रेलियाको यो यात्रा मेरो अघिल्लो क्यानबेरा यात्राभन्दा फरक थियो । क्यानबेरामा पुस्तकालय, युद्ध स्मारक, संसद् भवन र इतिहाससँग नजिकबाट भेट भएको थियो । यो यात्रा भने मुख्यतः बाटो, समुद्र, प्रकृति, परिवार र सहरको दैनिक जीवनसँग जोडिएको थियो ।
तर फर्किएपछि लाग्यो—यात्रा ठाउँहरूको सूची रहेनछ ।
बाटोमा देखिएका दृश्यहरूले फर्किएपछि मनभित्र बिस्तारै नयाँ अर्थ खोल्न थाल्दा रहेछन् ।
सडकहरू फराकिला र खुला थिए । वनजङ्गल र खेतीका क्षेत्रहरूबीच बस्तीहरू थिए । कतै पशुचौपाय, कतै खेती, कतै समुद्र र कतै नदी । सहर नजिकिँदा भवनहरू बाक्लिन्थे । कतै एकतले घरहरू आफ्नै शान्त लयमा देखिन्थे, कतै अग्ला भवनहरूले आकाश छोपेजस्तो लाग्थ्यो ।
समुद्र हेर्दा मन खुल्थ्यो । जङ्गल पार गर्दा मन शान्त बन्थ्यो । खुला भूभागले स्वतन्त्रताको अनुभूति दिन्थ्यो । अर्कोतिर अग्ला भवन, पुल, सडक, सुरुङ र सार्वजनिक यातायात हेर्दा मानिसको कल्पना, श्रम र व्यवस्थापनप्रति जिज्ञासा जाग्थ्यो ।
सायद यात्राको अर्थ नै प्रकृतिले रचेको संसार र मानिसले निरन्तर बनाउँदै गएको संसारबीचको यही भेटमा रहेछ ।
तर ध्यान तान्ने कुरा सधैँ ठूलो नै हुँदो रहेनछ ।
ब्रिसबेनका आधुनिक भवनहरूबीच देखिएको पुरानो वास्तुकलाको एउटा संरचना, केभ्स बिचमा हातबाट खाना टिपेर उडेको सिल्भर गुल, चिसो समुद्रमा पहिलोपटक खुट्टा राख्दाको क्षण, बाटो बिराउँदाको दस मिनेट, पच्चीसौँ तलाबाट तल हेर्दाको आङ सिरिङ्ग हुने अनुभूति, अपरिचित मानिसले खिचिदिएको हाम्रो तस्बिर—यी साना दृश्यहरू नै अहिले धेरै स्पष्ट सम्झनामा आउँछन् ।
पहिलो दिन समुद्रको छालसँग डर लागेको थियो । केही दिनपछि त्यही छाल परिचितजस्तो लाग्न थाल्यो । गलत बाटोले सुरुमा अन्योल बनायो, पछि त्यही बाटो रमाइलो स्मृति बन्यो । ५० सेन्टको यात्राले सार्वजनिक यातायातको एउटा फरक अनुभव दियो । ट्याप-अन छुट्दा लागेको सानो जरिबानाले आफ्नै असावधानीको पाठ सिकायो ।
यात्रा सायद यस्तै रहेछ—योजनाले तय गरेका ठाउँभन्दा बाहिर पनि केही कुरा भेटिनु ।
त्यसैले फर्किएपछि सोच्दा लाग्यो, हामीले केवल अस्ट्रेलियाका केही सहर र सामुद्री किनार मात्र देखेका रहेनछौँ । हामीले बाटोमा मानिस, प्रकृति, संरचना, व्यवस्था र आफ्नै जिज्ञासासँग पनि भेट गरेका रहेछौँ ।
छ दिन छोटो थियो ।
तर छोटो यात्रा पनि लामो स्मृति बन्न सक्दो रहेछ ।
कहिलेकाहीँ यात्रा सकिएपछि मात्रै थाहा हुँदो रहेछ—बाटोमा देखेका ठाउँभन्दा धेरै कुरा आफ्नै मनभित्र बोकेर फर्केका रहेछौँ ।
अब ती ठाउँहरू नक्साका नाम मात्र रहेनन् । तीसँग जोडिएका क्षणहरू पनि मनभित्र कतै बसिसकेका रहेछन् । कुनै दृश्यले त्यो ठाउँ फेरि आँखाअगाडि ल्याउँछ । कुनै आवाजले यात्राको कुनै क्षण फेरि सम्झाइदिन्छ । छालको सुसाहटले समुद्रलाई फेरि नजिक ल्याउँछ । कुनै तस्बिरले स्मृतिमा धमिलिँदै गएको क्षण र त्यससँग जोडिएको ठाउँलाई फेरि उजागर गरिदिन्छ ।
केभ्स बिचको पहिलो छालदेखि नेल्सन बेको अन्तिम किनारसम्म समुद्र यात्राको एउटा मौन साथी बनिरह्यो । बाटोमा भेटिएका मानिस र चराहरू, आँखामा बसेका दृश्य, भएका साना भूल र जन्मिएका नयाँ प्रश्नहरू भने यात्राको स्मृतिमा थपिँदै गए ।
छ दिनपछि कोगराह फर्कियौँ ।
तर फर्किएर हेर्दा लाग्यो—यात्रा त्यहीँ सकिएको रहेनछ । ठाउँहरू पछाडि छुटे तर तिनले छोडेका दृश्य, आवाज, अनुभूति र प्रश्नहरू मनसँगै फर्किए ।
बाटो सकिएको छ ।
तर यात्राको स्मृति अझै हिँडिरहेको छ ।
अध्ययनका लागि धन्यवाद।
अन्य लेखहरू पढ्नुहोस्