राष्ट्रको स्मृतिसँग जम्काभेट
अस्ट्रेलियाको राष्ट्रिय पुस्तकालयको यात्रा र आत्ममन्थन

अगस्ट ३०, २०२६ । क्यानबेरा, अस्ट्रेलिया ।
अघिल्लो दिन अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद् भवनबाट फर्किंदै गर्दा गाडीको झ्यालबाट अचानक एउटा बोर्डमा आँखा ठोक्कियो– National Library of Australia ।
गाडी अघि बढिरहेको थियो । केही पर अर्को नाम पनि देखियो– National Archives ।
यी दुवै संस्था हाम्रो त्यस दिनको घुम्ने सूचीमा थिएनन् तर ती दुई नामले मनभित्र एकाएक अनौठो तरङ्ग पैदा गरिदिए । त्यहाँ कस्ता कथा होलान् ? कस्ता पुस्तक, तस्बिर, अभिलेख र पाण्डुलिपि होलान् ? एउटा राष्ट्रको कति इतिहास त्यहाँ मौन भएर बसेको होला ?
गाडी अर्को गन्तव्यतर्फ अघि बढ्यो तर मेरो मन भने त्यहीँ रोकियो ।
त्यो रात अबेरसम्म एउटा प्रश्नले मनमा डेरा जमाइरह्यो । क्यानबेरा आएर राष्ट्रिय पुस्तकालय नहेरी फर्किएँ भने यो यात्रा कतै अधुरो त हुने होइन ?
अन्ततः मनले जित्यो ।
मैले ज्वाईं सुयोगलाई आफ्नो इच्छा सुनाएँ । कुरा भयो, योजना बन्यो र सिड्नी फर्किनुअघि भोलिपल्ट बिहान राष्ट्रिय पुस्तकालय जाने निधो भयो ।
सायद केही यात्रा योजनाले मात्र तय हुँदैनन्; कतिपय यात्रा मनको आग्रहले पनि तय हुन्छन् । क्यानबेराको राष्ट्रिय पुस्तकालयसम्मको मेरो यात्रा पनि त्यस्तै एउटा अनपेक्षित यात्रा थियो ।
अगस्ट ३० को बिहान करिब १० बजेतिर हामी क्यानबेराको ब्याङ्क्समा बस्ने हाम्रा नातेदार बलराम अधिकारीको घरबाट बिदा भयौँ । चार दिनको आत्मीय बसाइपछि घरबाहिर दुई परिवारका सबै सदस्य एकै ठाउँमा उभिएर सामूहिक तस्बिर खिच्यौँ । तस्बिरमा मुस्कानसँगै आत्मीयता पनि थियो । मनमा भने त्यससँगै राष्ट्रिय पुस्तकालय हेर्ने उत्सुकता जागेको थियो ।
गाडी क्यानबेराका फराकिला र व्यवस्थित सडक हुँदै अघि बढ्यो । केहीबेरपछि हामी पुस्तकालय परिसरमा पुग्यौँ । अगाडि बर्ली ग्रिफिन तालको किनारमा विशिष्ट वास्तुकलामा बनेको राष्ट्रिय पुस्तकालयको सेतो भवन देखियो ।
गाडीबाट ओर्लिएँ । पहिलोपटक भवनलाई नजिकबाट नियाल्दा केही क्षण शब्द नै आएन । सेतो भवन, वरिपरिको खुला परिवेश र अगाडि फैलिएको ताल, जो हिजो गाडीको झ्यालबाट देखिएको एउटा नाम अब आँखाअघि एउटा वास्तविक संसार बनेर उभिएको थियो ।
मनभित्र अनायासै एउटा भाव उठ्यो– आहा !
हलुका सेतो रङको भव्य बाहिरी आवरण, अनुशासित स्तम्भहरू, फराकिलो सिँढी र खुला परिसरले भवनलाई पुस्तकालयभन्दा पनि कुनै सांस्कृतिक स्मारकजस्तो बनाएको थियो तर मेरो आँखाले त्यो सुन्दर भवनभन्दा पनि त्यसभित्र लुकेको संसार खोजिरहेको थियो ।
मुख्य प्रवेशद्वारतर्फ अघि बढेँ । ठूला सिसाका स्वचालित ढोका नजिक पुग्दा बायाँतर्फ पुस्तकको संसार देखियो, दायाँतर्फ कफीको सुवास र चहलपहल । माथि र तल जाने बाटाहरू पनि थिए तर यी सबै दृश्यभन्दा अगाडि रहेको प्रवेशद्वारले नै मलाई तानिरहेको थियो । मानौँ त्यसभित्र हिजो गाडीको झ्यालबाट देखिएको नामले सङ्केत गरेको अर्को संसार मेरो प्रतीक्षामा थियो ।
ढोका पार गरेर भित्र पस्नेबित्तिकै अनुभूति फेरियो । म एउटा भवनभित्र मात्र प्रवेश गरेको थिइनँ; ज्ञान, स्मृति, इतिहास र संस्कृतिले एकअर्कालाई भेटिरहेको संसारमा पसेजस्तो लाग्यो ।
भवनभित्रका विभिन्न ठाउँ नियाल्दै जाँदा पुस्तकालयप्रतिको मेरो दृष्टिमा पनि एउटा परिवर्तन आउन थाल्यो । पुस्तकालय भनेको चुपचाप किताब पढ्ने ठाउँ मात्र होइन; यो मानिस, इतिहास, कला, अनुसन्धान, प्रविधि र समाजलाई जोडिरहने एउटा जीवित सार्वजनिक स्थान पनि रहेछ ।
भित्ताहरूले पनि मलाई बारम्बार रोकिरहेका थिए । ती खाली थिएनन् । कतै इतिहासका तस्बिर बोलिरहेका थिए, कतै कलाकृतिले समयको कुनै कथा सुनाइरहेका थिए, कतै मानिस र समाजका जीवनसँग जोडिएका प्रसङ्गहरू प्रस्तुत थिए । ती दृश्यहरूले मलाई कतै उभिएर हेर्न, कतै केहीबेर बसेर नियाल्न बाध्य बनाइरहेका थिए ।
त्यतिबेला लाग्यो– पुस्तकालयको संसार किताबका दराज र अध्ययन टेबलभन्दा धेरै फराकिलो रहेछ । मनमा आनन्दको अनुभूति भयो । त्यस दिन अस्ट्रेलियाको राष्ट्रिय पुस्तकालयभित्र उभिँदा पुस्तकालयको अर्थलाई अझ फराकिलो आँखाले हेर्ने अवसर पाएँ । यहाँ पुस्तक मात्र थिएनन्; एउटा राष्ट्रका सम्झना, सिर्जना, अनुभव र इतिहासका अनेक रूपलाई भविष्यका लागि जोगाउने निरन्तर प्रयास पनि रहेछ ।
त्यस क्षण भवनभित्रका दृश्यबाट मेरो ध्यान बिस्तारै यसको इतिहासतर्फ मोडियो ।
यस पुस्तकालयको कथा अस्ट्रेलियाली सङ्घ निर्माणसँगै जोडिएको रहेछ । सन् १९०१ मा अस्ट्रेलियाली सङ्घ स्थापना भएपछि बनेको Commonwealth Parliamentary Library ले प्रारम्भमा संसद् र राष्ट्र दुवैका लागि काम गर्थ्यो । सन् १९२७ मा संसद् मेलबर्नबाट क्यानबेरा सरेसँगै पुस्तकालय पनि क्यानबेरा आयो । सन् १९६० को एक ऐनले यसलाई संसदीय पुस्तकालयबाट औपचारिक रूपमा अलग गरी राष्ट्रिय पुस्तकालयका रूपमा स्थापित गर्यो । त्यसपछि बढ्दै गएको सङ्ग्रह र सेवाका लागि बर्ली ग्रिफिन तालको किनारमा नयाँ भवन बन्यो, जसको उद्घाटन १५ अगस्ट १९६८ मा गरिएको थियो ।
इतिहास पढ्दै जाँदा एउटा कुरा मनमा आयो, जुन पुस्तकालय कुनै एक दिनमा बनेको संस्था होइन; यो राष्ट्रको विकाससँगै विस्तार हुँदै आएको स्मृतिको घर रहेछ ।
भवनलाई फेरि नियाल्दा पनि त्यही अनुभूति थप गहिरियो । प्रमुख वास्तुकार Walter Bunning को नेतृत्वमा Bunning and Madden ले यो भवनको डिजाइन तयार गरेका रहेछन् । राष्ट्रिय पुस्तकालयले यसको वास्तुशैलीलाई समकालीन शास्त्रीय शैलीका रूपमा वर्णन गरेको छ । यसको स्वरूपमा प्राचीन ग्रीक वास्तुकलाको प्रभाव देखिन्छ । बाहिरी भागमा हल्का सेतो रङको सिंगमरमर, ग्रेनाइट, काँस, स्लेट र तामाजस्ता निर्माण सामग्री प्रयोग गरिएको छ ।
तर केहीबेर भवनको सौन्दर्य नियालिसकेपछि मन फेरि त्यही जिज्ञासतर्फ फर्कियो । यति भव्य भवनभित्र आखिर के–कस्ता स्मृति र सामग्री सुरक्षित होलान् ?
उत्तर त्यसको विशाल सङ्ग्रहमा रहेछ ।
राष्ट्रिय पुस्तकालयको सङ्ग्रहमा करिब एक करोड सामग्री सुरक्षित छन् । तीमध्ये पुस्तक र पत्रपत्रिका मात्र छैनन्; तस्बिर, कलाकृति, हस्तलिखित सामग्री, नक्सा, मौखिक इतिहासका अभिलेख, सङ्गीत सामग्री, पोस्टर र दुर्लभ मुद्रित सामग्रीलगायत अनेक प्रकारका स्रोत छन् । यी सामग्रीले अस्ट्रेलियाको अतीत, समाज र संस्कृतिका अनेक पक्ष बुझ्ने आधार दिन्छन् ।
तर त्यहाँ पुगेपछि मलाई एउटा कुरा अझ रोचक लाग्यो । इतिहास केवल भित्तामा टाँसिएका तस्बिर वा दराजमा सुरक्षित कागजमा मात्र रहेनछ; कतै आवाजमा पनि बाँचिरहेको रहेछ । भित्ताहरूले आफ्नै किसिमले बोलिरहेका जस्ता लाग्थे । कुनै तस्बिरले समयको कथा सुनाउँथ्यो, कुनै सामग्रीले मानिसको जीवनतर्फ डोर्याउँथ्यो, अनि कतै बसेर विगतका मानिसका आवाज पनि सुन्न सकिन्थ्यो । राष्ट्रिय पुस्तकालयको मौखिक इतिहास तथा लोकपरम्परा सङ्ग्रहमा सन् १९५० को दशकदेखि आजसम्मका व्यक्तिगत कथा, सांस्कृतिक परम्परा र ऐतिहासिक अनुभव समेटिएका ५८ हजार घण्टाभन्दा बढी रेकर्डिङ सुरक्षित छन् ।
मैले पनि केहीबेर कुर्सीमा बसेर विगतका आवाज सुनिरहेँ । शान्त वातावरणमा ती आवाज सुन्दा इतिहाससँगै बसेजस्तो अनौठो आत्मीयता महसुस भयो ।
त्यसपछि मनमा एउटा विचार आयो– इतिहास पढ्न मात्र होइन, सुन्न पनि सकिँदो रहेछ । आफ्नै आवाजमा सुनिएको कुनै व्यक्तिको जीवनकथा कागजमा पढिएको इतिहासभन्दा कहिलेकाहीँ अझ नजिकको अनुभूति दिन सक्दो रहेछ ।
त्यतिबेला फेरि एउटा प्रश्न मनमा आयो । यति विविध सामग्री आखिर राष्ट्रिय सङ्ग्रहमा कसरी आइपुग्दा रहेछन् ?
उत्तरको एउटा महत्वपूर्ण आधार रहेछ– Legal Deposit । अस्ट्रेलियामा एक शताब्दीभन्दा लामो समयदेखि कायम कानुनी व्यवस्थाअन्तर्गत प्रकाशित अस्ट्रेलियाली सामग्रीको एक प्रति राष्ट्रिय पुस्तकालयमा जम्मा गर्नुपर्ने व्यवस्था छ । सन् २०१६ मा कानुन संशोधन भएपछि यसको दायरा विद्युतीय प्रकाशनसम्म विस्तार भयो । पुस्तक, पत्रपत्रिका, जर्नल, नक्सा, सङ्गीत सामग्री, सरकारी प्रकाशन र सार्वजनिक रूपमा उपलब्ध वेबसाइटसम्म यसको दायरामा पर्छन् ।
यसरी हेर्दा आज प्रकाशित भएको एउटा पुस्तक वा डिजिटल सामग्री केवल आजका पाठकका लागि तयार भएको सामग्री मात्र रहेनछ । त्यसमा आजको समाजको सोच, सिर्जना, बहस र जीवनको एउटा छाप पनि सुरक्षित भइरहेको हुन्छ । समय बित्दै जाँदा त्यही छाप भविष्यका अनुसन्धान र पुस्ताका लागि महत्त्वपूर्ण प्रमाण बन्न सक्छ ।
विद्युतीय प्रकाशनको बढ्दो संसारलाई पनि राष्ट्रिय सङ्ग्रहमा समेट्न National e-deposit (NED) को व्यवस्था गरिएको रहेछ । सन् २०१९ देखि सञ्चालनमा आएको NED राष्ट्रिय, राज्य तथा क्षेत्रीय पुस्तकालयहरूको सहकार्यमा विद्युतीय प्रकाशन जम्मा गर्ने, व्यवस्थापन गर्ने, संरक्षण गर्ने र भविष्यमा पहुँचयोग्य बनाउने माध्यम बनेको छ ।
तर स्मृति जोगाएर मात्र पुग्दैन; त्यसलाई खोज्न र प्रयोग गर्न सकिने बाटो पनि चाहिन्छ । यहीँबाट पुस्तकालयको अर्को संसार खुल्छ– Trove ।
राष्ट्रिय पुस्तकालयले सञ्चालन गर्दै आएको Trove मार्फत अस्ट्रेलियाका पुस्तकालय, अभिलेखालय, सङ्ग्रहालय, विश्वविद्यालय तथा अन्य संस्थामा रहेका विविध डिजिटल सामग्री र अभिलेख खोज्न सकिन्छ । पुस्तक, पत्रपत्रिका, तस्बिर, नक्सा र अन्य सामग्रीसम्म एउटै डिजिटल माध्यमबाट पुग्न सकिने भएकाले Trove राष्ट्रिय ज्ञानसम्पदासम्म पुग्ने अर्को ठूलो ढोका जस्तो लाग्यो । Legal Deposit बाट सङ्ग्रहमा आइपुगेका सामग्रीसमेत Trove जस्ता खोजी माध्यमबाट पाठक र अनुसन्धानकर्तासम्म पुग्न सक्छन् ।
त्यसपछि मेरो ध्यान अध्ययन र अनुसन्धानतर्फ मोडियो । राष्ट्रिय पुस्तकालयका अध्ययन कक्षमा सङ्ग्रहका सामग्री प्रयोग गर्न, अनुसन्धान गर्न र पुस्तकालयकर्मीबाट आवश्यक सहयोग लिन सकिने व्यवस्था रहेछ । मौखिक इतिहासका रेकर्डिङसमेत विशेष सङ्ग्रहको अध्ययन कक्षमा सुन्न सकिने र आवश्यकताअनुसार त्यसका लागि श्रवण उपकरण उपलब्ध गराइने रहेछ ।
तर हामी पुगेको दिन समय सीमित थियो । भवनमा भइरहेको कामका कारण पुस्तकालयका सबै ठाउँ र सुविधा हेर्न पनि सम्भव भएन । मुख्य अध्ययन कक्षसमेत हाम्रो भ्रमणका क्रममा हेर्न पाइएन । त्यसैले राष्ट्रिय पुस्तकालयको सम्पूर्ण संसार प्रत्यक्ष अनुभव गर्न नसके पनि, जे देखेँ त्यसले धेरै प्रश्न र विचार मनमा छोडेर गयो ।
सबैभन्दा गहिरो अनुभूति भने यही थियो कि राष्ट्रको स्मृति आफैँ जोगिँदैन । कसैले त्यसलाई जोगाउनुपर्छ । त्यसका लागि जिम्मेवारी बोकेका संस्थाहरू चाहिन्छन् । त्यसलाई बुझ्ने, व्यवस्थित गर्ने र संरक्षण गर्ने पुस्तकालयकर्मी चाहिन्छन् । अनि सँगसँगै आफ्नो विगतलाई साझा सम्पदा ठान्ने समाज पनि चाहिन्छ ।
यही सोच्दै गर्दा एकाएक नेपाल सम्झिएँ ।
अस्ट्रेलियाको राष्ट्रिय पुस्तकालयका अग्ला भित्ताहरू र व्यवस्थित सङ्ग्रहबीच उभिएर हेर्दा आँखाअघि आफ्नै देशका पुस्तकालयहरू आउन थाले । सीमित पूर्वाधार, अव्यवस्थित सामग्री र संरक्षणका चुनौती एकपछि अर्को दृश्यझैँ मनमा आउन थाले ।
मनमा एउटा प्रश्न उब्जियो, हामी कहिले पुगौँला यस्तो अवस्थामा ?
तर मनले फेरि सोध्यो, किन नपुग्ने त ?
अस्ट्रेलियाको यो स्मृति पनि कुनै एक दिनमा बनेको थिएन । दूरदृष्टि, परिश्रम, लगानी र पुस्तौँपुस्ताको निरन्तरताले आजको रूप दिएको थियो । नेपालको इतिहास पनि छोटो र सामान्य छैन । भाषा, साहित्य, कला, संस्कृति र जनजीवनका अमूल्य स्मृति हामीसँग छन् । फरक यति हो कि ती स्मृतिलाई भविष्यसम्म कसरी पुर्याउने भन्ने यात्रामा हामीले अझ धेरै बाटो हिँड्न बाँकी छ ।
सायद प्रश्न स्रोतको मात्र होइन । हामीसँग भएका स्रोतलाई कति महत्त्व दिन्छौँ, कसरी जोगाउँछौँ र आउने पुस्तासँग कसरी जोड्छौँ भन्ने पनि हो ।
पुस्तकालय अवलोकनको अन्त्यतिर एउटा सानो मानवीय क्षणले यी विचारलाई अझ गहिरो बनाइदियो ।
बाहिरिने क्रममा स्वागतकक्षमा रहेकी एक पुस्तकालयकर्मीसँग छोटो भलाकुसारी भयो । हामीले आफूहरू नेपालबाट आएको बताउन नपाउँदै उनले नेपालको प्राकृतिक सौन्दर्यबारे कुरा गर्न थालिन् । हामी केही क्षण अचम्ममा पर्यौँ । कुराकानी अघि बढ्दै जाँदा थाहा भयो कि उनी नेपालमा केही दिनअघि आएको बाढी र त्यसबाट भएको जनधनको क्षतिबारे पनि जानकार रहिछन् । भदौ १० (२६ अगस्ट २०२६) मा रसुवासहित त्रिशूली–भोटेकोशी करिडोरमा आएको भीषण बाढीको प्रसङ्ग निकाल्दै उनले त्यसप्रति चिन्ता र मानवीय संवेदना व्यक्त गरिन् ।
त्यो क्षण छोटो थियो तर त्यसले मेरो मनमा एउटा गहिरो अनुभूति छोड्यो । दुई फरक देशका दुई पुस्तकालयकर्मीबीचको त्यो संक्षिप्त संवादले भूगोलभन्दा परको एउटा सम्बन्ध देखाइदियो । पुस्तक, इतिहास र ज्ञानसँग जोडिएका मानिसहरूका बीचमा सायद एउटा साझा संसार हुँदो रहेछ, जहाँ अर्को देश केवल नक्सामा कोरिएको भूभाग भएर रहँदैन; त्यसका कथा, प्रकृति र पीडा पनि आफ्नैजस्तै लाग्न थाल्छन् ।
बाहिर निस्कँदै गर्दा फेरि राष्ट्रिय पुस्तकालयतिर फर्केर हेरेँ । केहीबेर अडिएँ र एउटा अन्तिम तस्बिर लिएँ । फर्किनुअघि त्यो दृश्यलाई आँखामा मात्र होइन, क्यामेरामा पनि सँगाल्न मन लाग्यो ।
सेतो भवन घाममा चम्किरहेको थियो । भित्र पुस्तक, पाण्डुलिपि, तस्बिर र पुराना आवाजहरू थिए । लाग्थ्यो, एउटा राष्ट्रले आफ्ना पुस्तौँपुस्ताका स्मृति यहीँ सँगालेर राखेको छ ।
त्यही दृश्यसँगै नेपालको सम्झना फेरि मनमा आयो । हाम्रा पुराना पुस्तक, पत्रपत्रिका, तस्बिर, हस्तलिखित दस्तावेज, पाण्डुलिपि, लोकसाहित्य, भाषा, कला, संस्कृति र जनजीवनका अभिलेख पनि त हाम्रा सामूहिक स्मृतिका अभिन्न अंश हुन् । तीमध्ये कुनै एउटा हराउँदा केवल एउटा पुरानो सामग्री हराउँदैन; त्यससँगै विगतको एउटा आवाज पनि हराउन सक्छ ।
पुस्तकालय र अभिलेखालयमा गरिएको लगानी वर्तमानका लागि मात्र होइन, भविष्यका लागि पनि हो । राष्ट्रिय पुस्तकालयका ती सुरक्षित स्मृतितर्फ फर्केर हेर्दा यस सत्यको अर्थ त्यस दिन झन् गहिरोसँग अनुभूत भयो ।
नेपालको राष्ट्रिय पुस्तकालयबारे सोच्दा एउटा झिनो आशा पलायो कि हाम्रा राष्ट्रिय स्मृतिका संस्थाहरू पनि समयसँगै अझ व्यवस्थित, आधुनिक, अनुसन्धानमैत्री र सबैका लागि पहुँचयोग्य बन्दै जाऊन् । भवनसँगै त्यसभित्र सुरक्षित पुस्तक, दस्तावेज, पाण्डुलिपि र अन्य स्मृतिहरूले पनि नयाँ जीवन पाऊन् र नयाँ पुस्तासँग जोडिँदै जाऊन् ।
विशेषतः राष्ट्रिय पुस्तकालयको पुनर्निर्माण र आधुनिकीकरणलाई एउटा भवन निर्माणको कामभन्दा केही ठूलो अर्थमा हेर्न सकियोस् । यसलाई आफ्नै स्मृतिलाई फेरि एकपटक व्यवस्थित ढङ्गले हेर्ने, जोगाउने र भावी पुस्तासम्म पुर्याउने अवसरका रूपमा लिन सकियोस् ।
त्यस दिन म एउटा प्रश्न बोकेर फर्किएँ–
हामी आफ्ना पुस्ताहरूलाई कस्तो नेपाल हस्तान्तरण गर्दैछौँ ?
सायद एउटा यात्राले त्यसको उत्तर दिन सक्दैन तर क्यानबेराबाट सिड्नी फर्कंदै गर्दा राष्ट्रिय पुस्तकालयको सेतो भवन आँखाअघि उभिइरह्यो । त्यहाँ मैले अस्ट्रेलियाको इतिहास, स्मृति र ज्ञानको एउटा रूप देखेको थिएँ । फर्कंदा भने मनमा आफ्नै देशका स्मृतिहरू र तिनको भविष्यबारे एउटा धुमिल चित्र पनि सँगै थियो ।
सायद नयाँ ठाउँ देखेर फर्कनु मात्र यात्राको अर्थ होइन । फर्किएपछि आफ्नै ठाउँलाई फेरि एकपटक नयाँ आँखाले हेर्न थाल्नु पनि यात्राको एउटा अर्थ रहेछ ।
गाडी अघि बढिरह्यो ।
क्यानबेराको त्यो सेतो भवन बिस्तारै आँखाबाट ओझेल पर्दै गयो तर मनमा एउटा प्रश्न भने अझै बाँकी रह्यो–
हाम्रा स्मृतिहरूको अर्को घर कस्तो होला ?
अध्ययनका लागि धन्यवाद।
अन्य लेखहरू पढ्नुहोस्